नेपाल दूरसञ्चार प्राधिकरणको
प्रेश विज्ञप्ति
नेपाल सरकारको नेपाल राज्यका सबै दुर्गम तथा अति दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने लक्ष्य अनुरुप नेपाल सरकारले २०६४ भाद्र १० मा राजपत्रमा सूचना प्रकाशित गरी खुला गरेको “आधारभूत दूरसञ्चार सेवा” संचालनको लागि प्राधिकरणद्वारा भाद्र १८, २०६४ मा अन्तर्राष्ट्रिय स्तरमा विज्ञापन प्रकाशन गरी वोलपत्र आव्हान गरिएकोमा कार्तिक ११, २०६४ सम्म निवेदन परेका निवेदनहरु मध्ये ९५% नेपाली लगानी, पाकिस्तान मोवाइल कम्युनिकेशन लिमिटेड, पाकिस्तानको ३% र सेवा टेलिकम (प्रा.) लि., वंगलादेशको २% शेयर रहेको संयुक्त लगानीमा दर्ता भएको नेपाल स्याटेलाइट टेलिकम प्रा. लि. लाई आज “आधारभूत दूरसञ्चार सेवा (Basic Tleecommunications Service) संचालनका लागि प्राधिकरणबाट अनुमतिपत्र जारी गरिएको व्यहोरा र्सवसाधारणको लागि जानकारी गराइन्छ।
उपरोक्त कम्पनीले अनुमतिपत्र दस्तुर पच्चिस लाख र पर्फरमेन्स ग्यारेण्टी वापत पचास लाख प्राधिकरण समक्ष पेश गरेको छ।
कम्पनीले पालना गर्न पर्ने शर्तहरु निम्न बमोजिम रहेका छनः-
१. अनुमतिपत्र प्राप्त गरेको १५ महिनाभित्र मुख्य नेटवर्क मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा स्थापना गरी सो क्षेत्रका (हालसम्म टेलिफोन सेवा नपुगेका २७३ गा.वि.स.) २७३ (गा.वि.स.) स्थानमा प्रत्येक गा.वि.स.मा कम्तिमा २ लाइन सेवा स्थापना र संचालन गर्नुपर्ने साथै उक्त विकास क्षेत्रका ५० प्रतिशत क्षेत्रमा माग गरेका वखत (On-demand) टेलिफोन सेवा दिन सक्ने गरी नेटवर्किङ्ग विस्तार गर्नु पर्ने।
२. अनुमतिपत्र प्राप्त गरेको ३० महिनाभित्र मध्य पश्चिमाञ्चलको ५० प्रतिशत भू-भागमा नेटवर्किङ्ग सम्पन्न गरेपछि पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका ग्रामीण र सहरी क्षेत्रमा समान ढंगलेसेवा विस्तार गर्न पाउने।
३. सुदुर पश्चिमाञ्चल/पश्चिमाञ्चल विकास क्षेत्रमा सबै गा.वि.स. र नगरपालिकामा मागेका वखत टेलिफोन सेवा दिन सक्ने गरी नेटवर्क क्षमता स्थापना गरेपछि नेपाल राज्यका अन्य क्षेत्रमा सेवा विस्तार गर्न पाउने।
४. मध्यपश्चिमाञ्चल विकास क्षेत्रका (हालसम्म टेलिफोन सेवा नपुगेका) २७३ गा.वि.स.का कम्तिमा दुई लाइन टेलिफोन सेवा स्थापना र संचालन गरेपछि अलग स्वीकृति लिई अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा संचालन गर्न पाउने।
मिति २०६४।११।५
कैलाश प्रसाद न्यौपाने
प्रवक्ता