इन्टरनेटका तारहरु काटिएको गुनासोका सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना

Home//इन्टरनेटका तारहरु काटिएको गुनासोका सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरुरी सूचना

इन्टरनेटका तारहरु काटिएको गुनासोका सम्बन्धमा

नेपाल दूरसञ्चार प्राधिकरणको

अत्यन्त जरुरी सूचना

 

काठमाडौ महानगरपालिकाको ठमेल लगायतका क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका  (इन्टरनेट सेवा प्रदायक लगायतका) तारहरु काटिएको प्रति यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्राधिकरणले अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने प्रकृया अगाडी बढाइरहेको र सेवा प्रदायक संस्थाहरु तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै यसरी तारहरु काटिदा सो क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुन जाने, आम नागरिकको व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने तथा आम नागरिकको सञ्चार तथा सूचना पाउने हक हनन हुन गएको छ । दूरसञ्चार जस्तो अति आवश्यक सेवा अवरुद्ध हुने गरी गरिएको यस्तो कार्य दूरसञ्चार ऐन, २०५३ को मर्म विपरीत हुनुको साथै दण्डनीय समेत भएकोले सम्बन्धित मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र सरोकारवाला सेवा प्रदायक संस्थाहरुसंग समन्वय नगरी इन्टरनेटका तारहरु काट्दा सेवाग्राहीहरु तथा आम नागरिकहरु दूरसञ्‍चार सेवाबाट बञ्चित हुने तथा यसमा प्रयोग हुने तार र यन्त्र उपकरण नेपालभित्र निर्माण नहुने हुँदा सेवा सुचारु गर्दा ठूलो मात्रामा थप आर्थिक व्ययभार समेत पर्ने भएकोले यस्तो कार्य कुनै पनि दृष्टिकोणबाट उचित देखिदैन । तसर्थ कसैले पनि यस्तो कार्य नगर्न नगराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यो सूचनाको अवज्ञा गरी कसैले यस्तो कार्य गरेको पाईएमा दूरसञ्‍चार ऐन, नियम समेत बमोजिम सजाय हुने व्यहोरा पनि सम्बन्धित सबैमा जानकारी गराईन्छ।

नेपाल दूरसञ्‍चार प्राधिकरण
कमलादी, काठमाडौँ, नेपाल
जि.पि.ओ.बक्स – ९७५४
फोन : ९७७-१-४२५५४७४, फ्याक्स :९७७-१-४२५५२५०
इमेल: ntra@nta.gov.np, वेबसाइट: nta.gov.np

2019-12-20T11:16:38+00:00 December 20th, 2019|Public Notice|